दफा ३०
विवरणपत्र प्रकाशन गर्नु पर्ने
(१) संगठित संस्थाले यो ऐन प्रारम्भ भएपछि यस ऐन बमोजिम धितोपत्रको सार्वजनिक निष्काशन गर्नका लागि विवरणपत्र बोर्डबाट स्वीकृत गराई सम्बन्धित सबैको जानकारीको लागि सो विवरणपत्र प्रकाशन गर्नु पर्नेछ । यसरी विवरणपत्र प्रकाशन गर्दा सर्वसाधारणले विवरणपत्र प्राप्त गर्न वा हेर्न सक्ने ठाउँ समेत विवरणपत्रमा खुलाउनु पर्नेछ । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका धितोपत्र निष्काशन गर्दा विवरणपत्र जारी गर्नु आवश्यक पर्ने छैनः– (क) नेपाल राष्ट्र बैंकले जारी गरेको धितोपत्र, (ख) नेपाल सरकारको पूर्ण जमानतमा जारी गरिएको धितोपत्र, (ग) एक पटकमा बढीमा पचासजनासम्म व्यक्तिलाई बिक्री गर्ने गरी प्रस्ताव गरिएको धितोपत्र, (घ) आफ्ना कामदार वा कर्मचारीहरुलाई जारी गरिएको धितोपत्र, (ङ) बोर्डले विवरणपत्र जारी नगरी निष्काशन तथा बिक्री गर्न स्वीकृति दिएको धितोपत्र ।